नेपालले १०औं इन्डो–नेपाल स्केटिङ्ग च्याम्पियनसिपमा भारतलाई हराउँदै प्रथम स्थान हासिल

विराटनगर/ १०औं इन्डो–नेपाल रोलेर स्केटिङ्ग च्याम्पियनसिप प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुलको प्रांगणमा सम्पन्न उक्त प्रतियोगितामा भारत र नेपालका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा भारतबाट हिमाचल प्रदेश, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ खेलाडीले सहभागिता जनाएका थिए भने नेपालतर्फ डिपिएस, हेरिटेज,पिटर पान्स् प्ले पेन प्राइमरी स्कूल, किड जे र वि के भीएम स्कुल गरी विराटनगरका ५ विद्यालयका ५६ खेलाडी सहभागी भएका थिए।

नेपालले विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा निकाल्दै २७ स्वर्ण, १४ रजत र १३ कांस्य पदक जितेर पहिलो स्थान हासिल गर्‍यो। त्यस्तै, भारतले २४ स्वर्ण, १६ रजत र १७ कांस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो।

प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरीयाले दीप प्रज्वलन गरी गरे। उद्घाटन समारोहमा उनले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक क्षमतामा अभिवृद्धि गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

सो अवसरमा च्याम्पियन्स कराते एकेडेमीका खेलाडीहरूले कराते डेमो प्रस्तुत गरेका थिए। कार्यक्रम मोरङ जिल्ला स्केटिङ्ग एण्ड स्केटबोर्ड अध्यक्ष सुरज कामतको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपालको यो उपलब्धिले राष्ट्रिय खेलकुदमा थप उत्साह र हौसला थप्ने विश्वास गरिएको छ।


Add a Comment

Your email address will not be published. Required fields are marked *