विराट गोल्डकप घाटामा: प्रदेश सरकार र खेलकुद परिषद्को सहयोग अभाव

विराटनगर/ कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ।

२०७९ साल चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको गोल्डकपमा २२ लाख ६२ हजार ८०८ रुपैयाँ घाटा भएको आयोजक ट्रष्टले सार्वजनिक गरेको छ।

आयोजक ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ नदिँदा प्रतियोगिता घाटामा गएको बताए।

गोल्डकपबाट ८२ लाख ६० हजार ८३५ रुपैयाँ आम्दानी भए पनि कुल खर्च १ करोड ५ लाख २३ हजार ६४३ रुपैयाँ पुगेपछि २२ लाखभन्दा बढी घाटा भएको जानकारी दिइएको छ। आयोजकका अनुसार अझै १० लाख रुपैयाँ बजारमा तिर्न बाँकी रहेको छ।

प्रदेश सरकारले विराट गोल्डकपसँगै झापा गोल्डकप, बुढासुब्बा गोल्डकप, र इटहरी गोल्डकपलाई पनि आवश्यक रकम दिन नसक्दा आयोजकहरू समस्यामा परेका छन्।

गोल्डकप घाटाका बाबजुद आयोजक ट्रष्टले नवौं संस्करण आगामी फागुन २२ गतेदेखि आयोजना गर्ने तयारी गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि समय तालिका उपलब्ध गराइसकेको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *