के भन्छन् सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष?
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यले जाँचबुझका क्रममा अनुसन्धान गर्नुपर्ने अरू थुप्रै विषय देखिए पनि समय अभावले प्रवेश गर्न नसकिएको बताएका छन् ।
उनले समय अभावकै कारण पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन र उनका सचिवालयका कर्मचारी जोडिएको घटना र विषयलाई आयोगले समेट्न नसकेको स्पष्टिकरण दिएका छन् ।
पछिल्ला दिनमा आएका र अरू थप विषयमा अझै धेरै काम गर्न आवश्यक छ, यो विषयलाई हामीले सुझावमा समेटेका छौं,’ उनले भने, ‘सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति र उनको सचिवालयका कर्मचारी जोडिएको घटना र विषय समय अभावका कारण आफूहरूले समेट्न सकिएन ।’ पूर्वन्यायाधीश आचार्यका अनुसार आयोगलाई विशेष गरेर विद्युतीय चुरोट (भेप) र ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न कार्यादेश दिइएका कारण पनि अनुसन्धान त्यसैमा केन्द्रित भएको हो । । ‘असोज १४ अघिका घटनालाई मात्रै हामीले हेरेका हौं,’ आचार्यले भने, ‘यसबाहेक अरू विषयमा प्रवेश गर्न सकेनौं ।’