कोशीमा एमालेले माग्यो मुख्यमन्त्री
नेपाली कांग्रेसका नेता केदार गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए। उनलाई राप्रपाबाहेक अन्य दलका प्रदेश सांसदले विश्वासको मत दिएका थिए।
सरकार गठनको अन्तिम विकल्प (संविधानको धारा १६८ को उपधारा ५ बमोजिम) प्रयोग गर्दै मुख्यमन्त्री बनेका केदार नेतृत्वको सरकार धरमरमा परेको कतिपयको विश्लेषण छ। कतिपयले भने केदार नेतृत्वकै सरकार रहिरहने जिकिर गरेका छन्। अहिलेको सरकार ढलेमा प्रदेश मध्यावधि निर्वाचनमा जाने चर्चा पनि गर्न थालिएको छ। केहीले भने अहिलेको सरकारको दिनगन्ती सुरु भएकाले ढलेपछि नयाँ सरकार गठनको बाटो खुला रहने तथा प्रदेश मध्यावधिमा नजाने दाबी छ।
केन्द्रको उथलपुथलले प्रदेश सरकार संकटमा पर्ने देखिन्छ। ‘केन्द्रको बाछिटाको असर प्रदेशमा नपर्ने कुरै छैन,’एमालेका प्रदेश सांसद लीलाबल्लभ अधिकारी भन्छन्, ‘पछिल्लो गठबन्धनले सत्तारुढ कांग्रेसलाई प्रतिपक्षमा पुर्याएकाले पनि कोशीमा अहिलेको सरकार रहने अवस्था हुँदैन।’ उनले केन्द्रीय सत्ता गठबन्धन फेरबदल भएसँगै अहिलेको प्रदेश सरकार संकटमा परेको बताए।