आलु खाएर पेडाको धाक
निरोज मल्ल , विराटनगर। विराटनगरस्थित एक भव्य मंचमा दमदार भाषण भइरहेको थियो “हामी खेलकुदको विकास गरीरहेको छौं।खेलले हामीलाई विश्व जगत सामु चिनाउँछ। खेल हाम्रो गहना हो “। मन्चको एउटा कुनामा क्यामेरा हातमा बोकेर उभिएको म बबुरोले पनि मौन समर्थन जनाएं।वक्ताको भाषणले मन फुरुगं पनि भयो तर मनमा एक खटपट भने चलिरहेको थियो ।यो कार्यक्रममा सजावट त बडो आकर्षक छ ,खर्च पो कति हुंदैछ??
अनि समाजमा भैरहेका विकृति र विसंगति विरुध्द आवाज उठाउन शहरको कुना कुनामा पुराउने मेरो बाईक निकालेर निस्किएं ।दिनभरिको थकानपछि घर आऊनु थियो। विराटनगर वार्ड नम्बर ५ डि. पि. एस. स्कुल अगीडिको बाटोमा आइपुगेको थिएं,समय त्यस्तै अपरान्हको करिब ३ बजिरहेको थियो।अगाडि बढिरहेको मेरो साधन अचानक टक्क रोकियो।आकाशै ढाक्नेगरि धूलो उडिरहेको धुलाम्य मैदानमा फुटवल खेल अभ्यासको लागि भगीरथ प्रयत्न गरिरहेका युवा खेलाडीलाई हेरिरहें। मेरो मानसपटलमा विहान सुनेका ती मिठा भाषणका शब्दहरु गुन्जिरहे। केहि समय अगाडिको त्यो आलिशान सुन्दर मंच अनि मंचमा बजेका गड्गडाहट तालीको आवाज र भाषणले फुरुगं बनेको मेरो मन।
कठै ! वास्तविकता त अर्कै रहेछ।मनलाई चित्त बुझाएं।खेलकुदको अवस्था यस्तो छ ,मैदानहरु यस्ता छन् ,संरक्षण छैन, व्यवस्थापन छैन।दिनानुदिन खेलाडिहरुको हातमा खेलकुद सामाग्री होइन श्रमस्वीकृति पाएका हरिया पासपोर्टहरु देखिन थालिएको छ। दैनिक अनगिन्ति संभावना बोकेका युवाहरु विदेश पलायन हुन बाध्य छन्। आलु खाएर पेडाको धाक भनेको यही रहेछ । क्यानको पदाधिकारी छनोटमा राजनीतिक होडबाजी हुन्छ । खेलाडीको निम्ति पायक मैदान छैन। गुजारा गर्ने समान्य पारिश्रामिक पनि समयमा आउदैन। गोल्डको नाम मा चरम ठगी हुन्छ। तर किमार्थ यस कुरा मा नेता को ध्यान जाँदैन।अनि म कसरी रमाउं ती मिठा भाषणका शब्दहरुमा, त्यसपछि आफैले बजाएका तालीका आवाजहरु नमिठो झापड वनेर मेरा आफ्नै कानमा बज्रन्छन्।