नाम्जेमा साढे १८ करोड लगानीमा रिसोर्ट बन्दै
रिडी नाम्जे इको रिसोर्ट प्रालिको चौथो साधारणसभाले शारदा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ।
नाम्जेको थुम्कीमा सम्पन्न साधारणसभाले आगामी चार वर्षको लागि सर्वसम्मत रुपमा शारदा मगरलाई पुनः अध्यक्षमा चयन गरेको हो।
सञ्चालक समितिको सदस्यमा मानबहादुर बुढा, झकेन्द्र घर्तीमगर, ढकबहादुर मगर, तेजकुमार आले, हिमकर्ण मगर, टिकाराम पिठाकोटे थापा मगर, कर्णबहादुर मगर, खोजबहादुर लायो मगरलगायत छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं। १ का पूर्वकृषि मन्त्री तथा प्रदेशसभा सदस्य राम राना मगरले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।
कार्यक्रम विशेष अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, होटल एशोसिएशन अफ भेडेटारका कार्यबाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठ, रिडी सोपका अध्यक्ष मिलन थापा, प्रदेशसभा सदस्य नारायण बुर्जा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कम्पनीले पर्यावरण र संस्कृतिको संरक्षण सहितको सामाजिक उद्यमशीलतालाई केन्द्रमा राखेर साँगुरीगढी गाउँपालिका वडा नं। ६ नाम्जेमा इकोरिसोर्टको निर्माण र सञ्चालन गर्दैछ। रिडी नाम्जे इको रिर्सोट प्रालि २०७६ साल वैशाख २ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा विधिवत दर्ता गरी स्थापना गरिएको हो।
हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ भने जारी १० करोड छ भने चुक्ता पुँजी ५ करोड ७१ लाख ३० हजार रुपैयाँ रहेको छ।
रिसोर्टमा रिडी ग्रुप प्रालिको ७५ प्रतिशतभन्दा बढी संस्थागत लगानी रहेको छ भने स्थानीय तथा अन्य लगानीकर्ताहरूको २५ प्रतिशत रहेको छ। हाल बनिरहेको रिसोर्ट साढे १८ करोड लगानीको हो।
कार्यक्रममा दिइएको जानकारी अनुसार कम्पनीको नाममा रहेको ९ रोपनी २ आना जग्गामध्ये हाल ६ रोपनी ११ आनामा मात्र रिसोर्टको भवन तीव्र रुपमा निर्माण भइरहेको छ। बाँकी रहेको २ रोपनी ७ आनामा व्यावसायिक योजना बनाएर काम सुरू गर्ने जानकारी दिइयो।
रिडी नाम्जे रिर्सोटलाई नेपालकै नमुना इको रिसोर्ट बनाउने सोचको साथ काम गरिरहेको अध्यक्ष शारदा मगरले बताइन्। उनले इसो रिसोर्टमार्फत पर्यावरण, संस्कृति र उद्यमशीलताको प्रवर्द्धन कम्पनीको मुख्य उद्देश्य रहेको बताइन्।
‘पर्यावरण र संस्कृति पनि जोगाउने र व्यवसायिक उद्यम पनि गर्ने दीर्घकालीन सोचका साथ इकोरिसोर्ट सञ्चालन गर्नेछौं,’ उनले भनिन्, ‘पर्यावरण र संस्कृति मासेर नाफाको लागि मात्र गरिने व्यवसाय दिगो हुन सक्दैन। सामूहिक लगानी, सामूहिक उद्यमशीलता र सामाजिक दायित्व रिडी नाम्जे इको रिसोर्टको मार्गदर्शन सिद्धान्त हो।’
रिडी नाम्जे इको रिसोर्ट आगामी २०८० सालभित्र निर्माण कार्य सम्पन्न भइसक्ने र २०८१ को सुरूबाट रिसोर्ट सञ्चालन हुने कार्यक्रममा जानकारी दिइयो।