राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल
काठमाडौं। ७८ वर्षका रामचन्द्र पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका हुन्।
उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले।
पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो। २०४४ सालमा केन्द्रीय सदस्य बने।
पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो। त्यसपछि स्थानीय विकासमन्त्री बने। कृषिमन्त्री पनि भए। २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए। २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे।
माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बने। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने।
२०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन्। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मारेका थिए।
२०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। उनले २०७४ को निर्वाचन तनहुँ—१ मा हारे। यसपटक भने उनी तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। पौडेलले करिब १३ वर्ष जेल जीवन बिताए।
उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।