January 8, 2023
गुणस्तरहीन घिउसहित एक जना पक्राउ
पर्सा। वीरगञ्ज महानगरपालिका-१६ मा गुणस्तरहीन घिउसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेशकुमार राय रहेका छन्।
श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटरसहित सञ्चालक परेका हुन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।