यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्याए
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्याएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष यादव बीच भेट घाटमापार्टीको दावी दोहोर्याएका हुन् ।
यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्याएका थिए । जसपाले उपराष्ट्रपतिसहित दुई मन्त्रीमा दावी गर्दै आएको छ । अध्यक्ष ओलीले एमालेले राष्ट्रपतिमा कसलाई पठाउने भन्ने बारे निर्णय गरिनसकेकाले राष्ट्रपति/उपराष्ट्रपतिलगायत अन्य पदहरु प्याकेजमै टुङग्याउनुपर्ने बताएको स्रोतको दावी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग समेत यादवले उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका छन् । उनीहरुबीच सरकार संचालन र सरकारले ल्याउने साझा कार्यक्रमबारे समेत छलफल भएको छ।
प्रचण्ड यादवको मागमा सकारात्मक रहेको उनकै पार्टीका एक नेताले अन्नपूर्णलाई बताए । जसपाले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम हेरेपछि मात्रै सरकारमा जाने/नजाने निर्णय गर्ने जनाएको छ । मंगलबार बसेको जसपाको बैठकले यस्तो निर्णय गरेको हो ।
सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल सुरु गरेका छन् ।
यादवले एकीकृत समाजवादीसँग छिट्टै एकता हुने बताउँदै हिँडेका छन्। तर, एकीकृत समाजवादीका नेताहरुले भने एकताका लागि छलफल अघि बढेको भएपनि तत्काल त्यो संभवन नहुने बताए ।
जसपाले बारा–२ बाट जितेका राम सहाय यादवलाई संसदीय दलको नेता बनाएको छ । यादवलाई संसदीय दलको नेता बनाएकोप्रति जसपाभित्र विवाद समेत चुलिएको छ। तर, अध्यक्ष यादवले आफ्नो पार्टीले उपराष्ट्रपति पाए उनै संसदीय दलका नेता यादवलाई अघि सार्ने तयारीमा रहेका छन् ।
गत मंसिर ४ को निर्वाचनमा एमालेको समर्थन भएपनि यादव जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका थिए । निर्वाचन हारे लगत्तै यादवले एमालेसँगको सहकार्य टुंगिएको अभिव्यक्ति दिएका थिए । तर, अहिले यादव उपराष्ट्रपति पदमा एमालेकै सहयोग खोजिरहेका छन् ।