तराईमा दिनभरि हुस्सु/कुहिरो लागेको र अझै केही दिन शीतलहर हुने

विराटनगर। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिक बदली भइ तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने सम्भावना छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राती प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईमा केही दिन अझै शीतलहर

विगत तीन दिनदेखि नेपालका तराई भूभागमा, मुख्यतया मध्य तराईमा, दिनभरि हुस्सु/कुहिरो लागेको र अझै केही दिन शीतलहर हुने महाशाखाले विशेष बुलेटिनमा जानकारी दिएको छ।

‘भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियस बढीले घटेको छ। यी क्षेत्रहरुमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगंजदेखि पूर्व जनकपुरसम्म मंद शितलहरको अवस्था रहेको र यो शितलहर अझै १-२ दिन कायम रहने संभावना भएकोले तापक्रम घट्न गई मध्यम किसिमको शितलहर हुनसक्ने संभावना रहेको देखिन्छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ।

आगामी १-२ दिन चिसो धेरै बढ्ने भएकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

साथै देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *