प्रधानमन्त्री ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पुस २६ गते विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइन दिन भन्दै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई पत्र पठाएका हुन्। संसद बैठकमा विश्वासको मत लिने भएका हुन् ।
१६९ जना सांसदको समर्थन पुर्याएर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पुस ११ गते राष्ट्रपतिसमक्ष शपथ लिएका थिए।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसद् महासचिव भरतराज गौतमले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) वमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु ।’
सत्ता साझेदार दलहरुमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्त पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत ३ जना स्वतन्त्र सांसद रहेका छन्।
सात राजनीतिक दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।