नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा पार्टीको प्रदेश सभापति थापा विजयी
विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश सभापतिसमेत रहेका थापा १८ मत ल्याएर विजयी भएका हुन्।
दलको नेतामा उम्मेदवारी दिएकामध्ये प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले २ मत ल्याएका छन्। प्रदेशमा कांग्रेसका २९ जना प्रदेशसभा सदस्य थिए।
आकांक्षीले दाबी नछाडेका कारण सर्वसम्मतको प्रयास असफल भएपछि कांग्रेसमा दलको नेता चयन गर्न शुक्रबार बिहान मतदान गरिएको थियो। जसमा ६२ प्रतिशत हाराहारी मत ल्याएर थापा निर्वाचित भएका हुन्। पार्टीभित्र थापा कृष्णप्रसाद सिटौला पक्षधर हुन्। उनी २ कार्यकाल पार्टीको झापा जिल्ला सभापति भइसकेका छन्।
दलको नेता चयनका लागि निर्वाचनमा जानुपर्ने भएपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता एवं प्रदेश उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा समिति बनाइएको थियो। उक्त समितिले निर्वाचन सम्पन्न गरेर शुक्रबार बिहान मतपरिणाम सार्वजनिक गरेको हो।
दलको नेतामा संविधानसभा सदस्यसमेत रहेका अर्याल प्रमुख दाबेदार थिए। उनी संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन्। देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि गत मंसिर ४ गतेको निर्वाचनमा उनी प्रदेशसभा सदस्यको उम्मेदवार बन्न राजी भएको बताइएपनि मत परिणाम अर्यालको पक्षमा आएन। अपेक्षा गरेभन्दा निकै कम मत उनले ल्याए।
प्रदेशमा ११ जना सांसद आफ्नो पक्षमा रहेको दाबी संस्थापनले गर्दै आएको थियो। तर दलको नेता चयनका लागि गरिएको निर्वाचनमा ९ जना मात्रै सांसद रहेको भनिएको सिटौला समूह हाबी भएको छ।
दलको नेतामा उम्मेदवारी दिएका मन्त्री कार्की पार्टीभित्र संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर हुन्। प्रदेशसभामा कोइराला पक्षका ९ जना सांसद रहेको दाबी गरिएको थियो। कार्कीले भने ९ मत नै ल्याएका छन्। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि प्रदेशमा समेत कांग्रेस प्रतिपक्षको भूमिकामा हुने छ।