शिक्षकको हत्याको आरोपमा दुई जना पक्राउ

बैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त दम्पती सार्वजनिक गरेको हो।

जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेकी १९ वर्षीया बिमला बोहरा र उनका श्रीमान २५ वर्षीय प्रजा बोहरा हत्यामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस १ गते राती ९:४५ बजे बिमला सौचालय जान भनी बाहिर निस्किएकी र केहिबेरसम्म पनि बिमला कोठामा नफर्किएपछि श्रीमान् प्रजा बाहिर निस्केको समयमा कोठामा जाने सिडीमा शिक्षक बिष्टले अंगालो हाली हातपात गर्न खोजेको र सहन नसकी बिमलाका श्रीमानले कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसँगै बसेर पढ्दै आएकी थिइन्। घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही विषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए। बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन भइरहेको छ। आन्दोलनले यातायात र सो क्षेत्रका विद्यालयको पढाइ प्रभावित बनेको छ।

मृतकका परिवारले शव अझैसम्म पनि बुझेका छैनन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *