रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ ।
बिर्तामोड, २८ मंसिर । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ ।
झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका धनी मगरलाई जिताउन आग्रह गर्नुभयो ।
मगरलाई जिताउन अभियानले जिल्लाका विभिन्न स्थानमा स्थानीय कलाकारको साथ लिएर सहयोग संकलन गरिरहेको उहाँले बताउनुभयो । मगरलाई जिताउन नेपाल मगर विद्यार्थी संघ, युनाइटेड क्लब बिर्तामोडले समेत यथासम्भव प्रयास गरिरहेको छ ।
“आफ्नै संघर्षको जगमा उभिएका एक होरहार कलाकारलाई जिताउनु हामी सबैको साझा कर्तव्य हो”, संयोजक थापा मगरले भन्नुभयो, “विभिन्न कलाप्रेमी महानुभावले समेत स्वतस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ ।” बिर्तामोडका विभिन्न कलेजहरुमा समेत योगेशका लागि सहयोग संकलन गरिरहेको जिताउन अभियानले जनाएको छ ।
मगरलाई जिताउन भोटिङ महत्वपूर्ण रहेको छ । भोटिङका लागि खल्ती एपबाट कोड नंं. १२ मा निःशुल्क र सशुल्क भोट गर्न सकिने युनाइटेड युथ क्लबका अध्यक्ष साङ्गेदोर्जे शेर्पाले बताउनुभयो ।
पन्छी एण्ड सनब्रस्ट ब्याण्डका मुख्य गायक योगेशले झापाका अधिकांश क्लब÷पब मा सांगीतिक प्रस्तुती दिइसकेका छन् । आफ्नै आत्मबल र स्वअध्ययनबाट गायन क्षेत्रमा स्थापित हुँदै गएका योगेश एक संघर्षशील युवा हुन् ।
पत्रकार सम्मेलनमा जिताउ अभियानका सदस्यहरु राज मुखिया, विश्वास कार्की, खुम खड्का लगायतले कुशल गायक योगेशलाई जिताउन भोटिङ महत्वपूर्ण भएकाले सबैको सहयोग अपरिहार्य भएको भन्दै सक्दो भोट गर्न आग्रह गर्नुभयो । योगेशलाई शुक्रबारसम्म भोट गर्न सकिनेछ ।