समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद देखिएको छ । समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन् । सो पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेश गरेको थियो ।
प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएपनि सो प्रकृया मिच्न खोजिएको उम्मेदवारहरुको आरोप छ ।
रास्वपाका असन्तुष्ट नेताहरुले पार्टी कार्यालय अगाडि खबरदारी सभा गरेका छन् । सो क्रममा रास्वपा सुनसरीका सभापति लालविक्रम थापाले प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकालाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै नेतृत्वलाई खबरदारी गरेको बताए । उनले भने, ‘पार्टीको विधि मिच्न मिल्दैन । समानुपातिक सांसद चयनमा चलखेल हुनुहुँदैन । ’
बन्दसूचीमा रहेका एक उम्मेदवारले अन्नपूर्णसँग भने, ‘पार्टीमा मोटो रकमको चलखेल गरी प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्या मिचेर तिथि बसाल्ने कुराको धज्जी उडाउँदै केन्द्रीय समितिले बन्द सूचीमा पछाडि भएका उम्मेदवारलाई सांसद बनाउने दाउमा छन् ।
रास्वपाभित्र प्राइमरी इलेक्सनमा आएको मत हेरेर धेरै मत ल्याउने र बन्दसूचीको नामलाई आधार मानेर समानुपातिकतर्फ सांसद पठाउनुपर्ने माग उठे पनि नीति र तिथि बसाल्नेहरू माथि नै आशंका पैदा भयो ।’
पार्टी प्रवक्ता मुकुल ढकालले समानुपातीक बन्द सूचिमा पेश भएका नामको विषयमा कुनै चलखेल नहुने बताए । उनले केन्द्रीय समिति बैठकले यसबारे थप निर्णय गर्ने बताए । ढकालले भने, ‘प्रकृया बल्ल सुरु भएको छ । पार्टी बिग्रिन्छ कि भनेर हामीलाई सचेत गराउनुभएको हो । बिग्रिनु हुँदैन भनेर खबरदारी भएको हो । समानुपातिकमा चलखेल हुँदैन ।’
रास्वपाले समानुपातिक पद्यतीमा १३ सिट पाएको छ । पार्टीको प्राइमरी इलेक्सन र समानुपातिकतर्फ बन्दसूचीमा नाम पठाइएको र समावेशी सिद्धान्तअनुसार मिल्ने गरी १३ जना सांसदमा चयन गर्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको थियो ।