निर्वाचन बिथोल्न विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा देशभरबाट ११५ जना पक्राउ

काठमाडौ। निर्वाचन बिथोल्न सक्रिय समूहप्रति प्रहरीले निगरानी बढाएको छ। मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै निकाय परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘चुनाव विरोधी गतिविधि गर्ने व्यक्ति हुन् या समूह सबैलाई कानुनबमोजिम कारबाही गरिनेछ। उनीहरूको गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गरिएको छ।’

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट ११५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्येबाट ११ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ। विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत, नेकपा क्रान्तिकारी, वैज्ञानिक समाजवादी, स्वाधीन मधेस, जनअभियान, शिव सेना नेपाल, शाही युवा शक्ति नेपाल र स्वतन्त्रको नाममा बनेको केही संगठित समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रवक्ता राईले बताए।

‘हामी तयारी अवस्थामै छौं। कानुनविपरीत काम गर्ने जोकोही पनि प्रहरीको नजरबाट बच्न सक्दैन। हरेक व्यक्ति र समूहको गतिविधिबारे प्रहरी इगल आइ जस्तो भएर बसेको छ,’ राइले भने, ‘चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको छ।’ उनका अनुसार चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयको निर्देशन छ।

सरकारको प्राथमिकतामा मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा परेको छ। गृह प्रवक्ता पोखरेल भन्छन्, ‘अवैध हातहतियार भित्रिन सक्ने तथा अवैध गतिविध हुन सक्ने अनुमान गर्दे छिमेकी मुलुकसँग जोडिएको सीमा नाकामा प्रहरीको उच्च निगरानी छ।

सीमा पारि जाने वा आउने सबै व्यक्तिलाई कडा चेकजाँच गरिँदै आएको छ। निर्वाचन हुने ३ दिन अघिदेखि सीमा नाका पूर्ण रूपमा बन्द गरिनेछ। शान्ति सुरक्षालाई मध्यनजर गर्दे निर्वाचनको दिन सम्पूर्ण रूपमा सवारी आगमन बन्द गरिनेछ।’

सरकारले छुट्ट्याएको संवेदनशील र अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाको ग्यारेन्टी गर्दै सम्पूर्ण तयारी पूरा भएको छ। भौगोलिक स्थिति, यसअघि उक्त मतदान स्थलमा के कस्ता गतिविधि भएको ख्याल गर्दे यसपटक यस्ता स्थलहरूमा सुरक्षा निकायले आन्तरिक र बाह्य दुवै रूपमा सुरक्षा प्रदान गरिरहेका छन्। सम्भावित चुनौती सामाना गर्न सुरक्षा निकाय तयार रहेको पोखरेलले जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *