मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका १४ वटा उजुरी
विराटनगर। मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका १४ वटा उजुरी परेका छन्। निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरुका तर्फबाट आचारसंहिता उल्लंघन भएको भनेर उजुरी परेका हुन्।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्। राजनीतिक दल र उम्मेदवारले नियमको उल्लंघन गर्दै चुनावी प्रचारलाई तीव्र पारेका हुन्। हालसम्म आचारसंहिता उल्लंघनका १४ वटा उजुरी निर्वाचन आयोगमा परेको छ। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले लिखित र मौखिक उजुरी परेको जानकारी दिए।
उजुरीउपर छानबिन भइरहेको उनको भनाइ छ। उनका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेर विभिन्न ठाउँमा तुल, ब्यानर, दलका चुनाव चिन्ह, झण्डा राख्ने गरेको पाइएको छ। आचारसंहिताको उल्लंघन गरेर राखिएका सामग्री हटाउने क्रमलाई तीव्र पारिएको अधिकारीले बताए।
यसैबीच जिल्ला आचारसंहिता अनुगमन समितिले बिहीबार मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा अनुगमन गरेको छ। समिति संयोजक तनुजा पोखरेलको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल, प्रदीप साह, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, प्रदेश निर्वाचन प्रमुख लेवन काश्यप अधिकारी समेतको टोलीले निर्वाचन क्षेत्रको अनुगमन गरेको हो।
टोलीले विभिन्न ठाउँमा आचारसंहिताको उल्लंघन गरेर राखिएका ब्यानर, उम्मेदवारका चुनाव चिन्ह, झण्डा, स्पिकर, टेम्पोमा राखिएका तुल तथा ब्यानरहरु हटाएको छ। त्यस्ता सामग्री नराख्न निर्देशनसमेत दिइएको प्रजिअ दाहालले बताए। उनका अनुसार कटहरी, जहदा, धनपालथान लगायतका स्थानमा आचारसंहिताविपरीत राखिएका सामग्री हटाइएको छ। टोलीले निर्वाचन प्रचारका नाममा नियमको धज्जी उडाएर सामग्री राख्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
संयोजक पोखरेलले विगतको तुलनामा आचारसंहिता उल्लंघन कम देखिएको बताइन्। ‘उम्मेदवार र दलहरुले अनुशासन कायम गरेकाले आचारसंहिता उल्लंघनमा कमी देखिएको हो,’ उनले भनिन्, ‘नियमको पालना गर्न र गराउन सबैलाई निर्देशन दिइएको छ।’ पोखरेलले आचारसंहिता उल्लंघनका छिटफुट घटना भने भएको उल्लेख गरिन्।