नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आम निर्वाचन बहिष्कार गर्ने

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मसालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने र जनतालाई चुनावमा भाग नलिन अनुरोध गर्ने निर्णय गरेको हो ।

मसालले संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रेशम गिरीले बताए । उनले निर्वाचनमा सहभागी नहुने गरी जनतालाई अपिल गर्न जिल्लाव्यापी पर्चा वितरण, घरदैलो अभियान, भेट, कोणसभा, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्‍चालन गरिने बताए ।

नेकपा मसालले राष्ट्रियता र जनजीविकाको पक्षमा परिणाममुखी जनसंघर्ष सञ्चालन गर्ने, पार्टीलाई उत्पादन कार्यमा जोड्ने, जनसंघर्षमा पार्टीको नेतृत्वदायी भूमिका खेल्नेलगायतका निर्णय गरेको जनाएको छ ।
मसालले निर्वाचनमा सहभागी नहुनका लागि क्रान्तिकारी माओवादी, नेकपा बहुमत, कम्युनिष्ट पार्टी माओवादीसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता गिरीले बताए ।

उनले निर्वाचन बहिष्कार गरेको नेकपा माओवादी विप्लव समूहसँग भने समन्वय नगर्ने निर्णय गरेको जनाए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *