तार व्यवस्थापन गर्न ४५ दिनेको समयसीमा

विराटनगर। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ। तार तथा उपकरणलाई सेवा प्रदायकले व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्नेछ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न आग्रह गरेको छ। विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुन्ड्याएका उपकरणका कारण सहरलाई कुरूप बनाएको छ।

आगलागीलगायतका विद्युतीय दुर्घटना बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ।

विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत् लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ। ४ सय भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनु पर्नेछ।

अन्य ४ सय भोल्टका उपकरणहरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ। अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *