बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मोरङको बूढीगंगा गाउँपालिका–२ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बाँस काट्ने क्रममा करेन्ट लाग्दा विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको हो ।

बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो । काटेको बाँसले ११ हजार भोल्टको हाइटेन्सन लाइनमा छुनसाथ करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपाचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गर्नसाथ चिकित्सकले साँझ ५ बजेतिर मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।

घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *