संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण:माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताएका हुन्।

‘राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ’, उनले भने। आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत बनेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे । उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए ।

घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ । उनले मस्र्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए । -रासस

Add a Comment

Your email address will not be published. Required fields are marked *