इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले उच्च सतर्कता
काठमाडौ। युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले उच्च सतर्कता अपनाइएको छ ।
राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस शहरमा उच्च सतर्कता अपनाइएको ट्वीटमार्फत जानकारी दिए । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण नआओस भनेर सतर्कता अपनाइएको उनले बताए ।
मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही शहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यो भाइरसको सङ्क्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको संक्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले बताएका छन् ।
यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्र्किएका थिए ।
गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ । यस सङ्क्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ ।