‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरे
हेटौंडा। नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरेकी छन् ।
हेटौंडामा आयोजित कार्यक्रममा नेतृ डीनाले प्रतिगमनको पक्षधरलाई बहिस्कार गर्ने बेला भएको बताइन । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी उनले मतदान गर्नुपूर्व संविधानको रक्षाका गर्न जुटेका र बर्खिलापमा गएकाको पहिचान जनताले अब गर्नुपर्ने बताइन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीलाई पटक–पटक मास्न खोज्ने, संविधान मिच्ने, गणतन्त्र धरापमा पार्नेहरुलाई चिन्ने बेला आएको छ । संविधानविरुद्ध संसदबाहिर बसेको राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेले उम्मेदवार बनाएको भन्दै नेतृ डीनाले आम जनताले सही नेतृत्व चुन्ने बेला भएको बताइन् ।
उनले लोकतान्त्रिक पद्धतिलाई स्थायित्व दिने कुरामा गठबन्धन दल प्रतिवद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनको यात्रामा गठबन्धनका दलसँगै रहने बताइन् ।