मोरङमा स्वतन्त्र उम्मेदवार सहित ११ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका ११ जनाले मोरङमा उम्मेदवारी फिर्ता लिएका छन् ।

मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभाका ३ र प्रदेशसभातर्फका ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ की स्वतन्त्र उम्मेदवार सुजाता थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार गोकुलप्रसाद पोखरेल र क्षेत्र नम्बर ६ का लोसपा उम्मेदवार राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । मोरङमा प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर १ ‘ख’ का स्वतन्त्र उम्मेदवार डिल्लीराम शर्मा अधिकारी, ३ ‘ख’ का तिलकप्रसाद राई र कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको अधिकारीले बताए । उनका अनुसार क्षेत्र नम्बर ४ ‘ख’ बाट नेकपा (एकीकृत समाजवादी)का महेश रेग्मी र क्षेत्र नम्बर ५ ‘ख’बाट स्वतन्त्रतर्फका भूराज राईको उम्मेदवारी फिर्ता भएको छ । क्षेत्र नम्बर ६ ‘ख’ बाट नेकपा एसका उम्मेदवार ओसिम आलम, स्वतन्त्र उम्मेदवार जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २ सय २९ जनाले मनोयनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार ११ जनाले फिर्ता लिएको र २ जनाको खारेज भएपछि २ सय १६ जनाको उम्मेदवारी कायम भएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *