चितवनमा उमेद्वारीमा परिवर्तन अधिकांश नयाँ अनुहार

चितवन। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रोपटक चितवनको क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन्। पूर्व अर्थमन्त्री पाण्डे दुईपटक निर्वाचित भइसकेका हुन्।

उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी अर्थमन्त्री बने। पाण्डे २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको तालमेलमा निर्वाचित भएका थिए। उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकाहरू भने नयाँ अनुहार हुन्। पाण्डेसँग राष्ट्रिय योजना आयोगबाट राजिनामा दिएर चुनावमा होमिएका काँग्रेसका विश्व पौडेल चुनावी प्रतिस्पर्धामा छन्। पौडेल पहिलो पटक चुनाव लड्न लागेका हुन्। राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन–१ बाट राप्रपा बागमती प्रदेशका सहसचिव मधुकुमार भट्टराई (माधव) उमेदवार छन्। उनी पनि नयाँ अनुहार हुन्।

प्रदेश १ (क) मा एमालेबाट जगन्नाथ थपलिया, कांग्रेसका किरणभूषण सिंह ओली प्रतिस्पर्धी छन्। त्यस्तै, प्रदेश (ख)मा नेकपा एसका कृष्ण खनाल र एमालेका प्रकाश खनाल प्रतिस्पर्धामा छन्। कृष्ण खनाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी एमाले विभाजनपछि नेकपा एसमा गएका हुन् भने प्रकाश खनाल माओवादीबाट एमालेमा आएका हुन्। त्यस्तै, राप्रपाबाट क्षेत्र (क) मा रामहरी कंडेल र (ख) मा बलराम खनाल उम्मेदवार छन्। प्रदेशतर्फ कृष्ण खनालबाहेक सबै नयाँ अनुहार हुन्।

क्षेत्र नम्बर दुईमा राज्यमन्त्री उमेश श्रेष्ठ उम्मेदवार बनेका छन्। यसअघि समानुपातिकबाट सांसद बनेका श्रेष्ठ यसपटक प्रत्यक्षतर्फका उम्मेदवार हुन्। श्रेष्ठका प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल हुन्। पोखरेल २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविन अधिकारी पनि उम्मेदवार छन्। यही क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर २(क) मा नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल, एमालेका कृष्णप्रसाद सिलवाल र राप्रपाका रुक्माङगत पोखरेलले उम्मेदवारी दिएका छन्। २(ख) मा एमालेका देवी ज्ञवाली, कांग्रेसका उत्तम जोशी र राप्रपाका जगदिश्वर अधिकारीले उम्मेदवारी दिएका छन्। दाहालबाहेक सबै नयाँ प्रतिस्पर्धी हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोडेको चितवनको क्षेत्र नम्बर–३ मा रोचक भिडन्त हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। पूर्व वन तथा भूसंरक्षण मन्त्री पाण्डे २०७० सालमा तत्कालीन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७४ सालमा कांग्रेससँगको तालमेलमा उठेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए।

पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार बनेका छन्। उनी भरतपुर अस्पतालको अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने पनि उक्त क्षेत्रबाट लड्दै छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *