निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध:प्रधानमन्त्री देउवा

विराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसमा कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री भने ,’आगामी मङ्सिर महिनामा हामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न गइरहेका छौँ । यसले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ । अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु।

प्रधानमन्त्री देउवाले देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताए। मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन सम्पन भइ अब यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दि। देउवाले भने, ‘संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन नियमहरू तर्जुमा भई कार्यान्वयनमा आएका छन् । मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन सम्पन्न भएसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी छ। यसका लागि हाम्रो सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउन जरुरी छ । निष्ठा र इमानदारीका साथ काम गर्नुपर्ने खाँचो रहेको देउवाको भनाइ छ। उनले वीर सहिदहरुका अपुरा सपना पूरा गर्ने र समृद्ध नेपाल बनाउने जिम्मेवारी आम नेपालीको काँध आएको बताए।

हाम्रा वीर सहिदहरूका अधुरा सपना पूरा गर्ने र समृद्ध नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ। यसलाई अवसरको रूपमा सदुपयोग गर्दै समृद्धि र सुशासनलाई यथाशीघ्र हरेक नेपालीको घर आँगनमा पुर्‍याउन हामी सबैले निष्ठा र इमानदारीका साथ काम गर्नुपर्ने खाँचो छ,’ देउवाले भने,’ अब सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्न सक्ने समतामूलक समाजको निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *