प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य:प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन्। संविधान दिवस–२०७९ को अवसरमा शुभकामना दिँदै उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीताउन आह्वान गरेका हुन्।

उनले प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अपील गरेका छन्। उनले लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको उल्लेख गरेका छन्। प्रचण्डले भनेका छन्, ‘संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ।

प्रचण्डले संविधानले नागरिकलाई गाउँगाउँमा सिंहदरबारको अनुभूति गराएको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, ‘सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ। यसले नागरिकलाई गाउँगाउँमा सिंहदरबारको अनुभूति गराएको छ।’

प्रचण्डले संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान समेत व्यक्त गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *