देशभर हल्कादेखि मध्यम वर्षा हुने

विराटनगर । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *