देवानगंज गाउँपालिकामा म्याद सकिएको सामान खुलेआम विक्री वितरण हुँदै
विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सको कर्तुत बाहिरिएको छ । सप्लायर्सले म्याद सकिएको समानहरु खुल्लेयाम बेचिरहेको कर्तुत बाहिरिएको हो ।
शुक्रबार एक उपभोक्ताले एक प्याकेट चिउरा किन्दा ९ महिना पहिले म्याद सकेको चिउरा दिएको स्थानीय दिपक कुमार मेहताले बताए । मेहताका अनुसार एनआइसी एसिया बैंकका कर्मचारी सुरज मुखियाले विशाल सप्लायर्सबाट हुलास कम्पनीको चिउरा किनेर ल्याई प्याकेट फोडेर चिउरा खादा स्वाद फरक लागे पछि प्याकेटमा म्याद हेर्दा ९ महिना पहिले नै म्याद सकिएको चिउरा दिएको बताए । फोडेको प्याकेट लिएर सो विशाल सप्लायर्स कहाँ पुग्दा साहुले प्याकेट किन फोडेको ? फिर्ता गर्दिनथे अब गर्दिन भनेर धाक समेत देखाएको मेहताले बताए । एउटा कर्मचारीलाई ९ महिना पहिले म्याद सकेको समान दिन सक्ने पसलेले अन्य अशिक्षित उपभोक्तालाई कसरी सामान बेच्छन् होला यो प्रश्नको विषय हो ।
विशाल सप्लायर्सका साहु पप्पु भगतले म्याद सकिएको चिउरा कम्पनीले फिर्ता लिने भनेर पसलको कुनामा राखिएको बताए । बुवाले म्याद नहेरी दिएको उनले बताएका छन् । भगतका अनुसार चिउरा कम्पनीले म्याद सकिएको १ किलोग्रामको चिउरा फिर्ता लागिसक्यो र करिब ५ महिना पहिले म्याद सकेको ५०० ग्रामको १५ वटा चिउरा प्याकेट फिर्ता लग्न अझै बाँकी रहेको बताए । म्याद सकिएको चिउरा फिर्ता लगेर के गर्छन् भनी प्रश्न गर्दा भगतले पुनः प्याक गरि पठाउने गरिन्छ भनी बताए । यसरि म्याद सकिएको समान पुनःप्याक गरि पठाउने कम्पनिले मानवको स्वास्थ्यसँग खेलबाड गरी रहेको देखिन्छ । यी कम्पनिहरुलाई कहिले कसले अनुगमन गर्ने ? प्रश्न उठेको छ ।
देवानगंज गाउँपालिकाका लागि विशाल सप्लायर्स एउटा उदाहरण मात्र हुन् । यस्ता कति पसलहरु म्याद सकिएको समानहरु बेचिरहेका छन् । पालिकाले अहिले सम्म मानवको स्वास्थ्य सम्बन्धि कुनै किसिमको अनुगमन या अभियान नै ल्याएको छैन । यस प्रति स्थानीय सरकारको समय मै ध्यान जान जरुरी देखिन्छ ।