स्व. नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्नुपर्ने : महामन्त्री थापा
काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्व. नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्ने बताएका छन्।
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य स्व. प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। उनले भने, ‘स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्नेछ। उनले गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरिएको हो बताए।
‘स्व गिरी जहाँ गएपनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हौं,’ उनले भने। स्व गिरीको १३ औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो । घाँटीको क्यान्सरबाट पीडित गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो ।
सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका गिरि चार पटक सांसद बनेका थिए । उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।