राष्ट्रपति भण्डारीले छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई बोलाए

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि शीतल निवास बोलाएकी छन्। समसमायिक विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए।

छलफलका लागि भन्दै राष्ट्रपतिज्युले हामीलाई साँझ ५ बजे बोलाउनुभएको छ। समसमायिक विषयमा छलफल हुने कुरा छ, उनले अन्नपूर्णसँग भने। शीतल निवास स्रोतका अनुसार नागरिकता विधेयक विषयमा छलफलका लागि एमाले नेताहरुलाई डाकिएको हो। छलफलमा एमालेका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग नागरिकता विधेयकको विषयमा चासो राखेकी छन्।

प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएकाले उक्त विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *