कोठा भाडामा लिएर लागुऔषध किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ
विराटगनर। कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ। भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो।
ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया शरस्वती गुरुङले भाडाको कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार लागुऔषध बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा गुरुङको कोठामा शुक्रबार साँझ प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले खानतलासी गर्दा कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद भएको छ।
कोठामा ब्राउन सुगर फेला परेपछि प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगडी नगरपालिका–१० का २६ वर्षीय विकाश थापा, सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, मोरङको विराटनगर महानगरपालिका–१५ का २५ वर्षीय वरुण साह र विराटनगर–३ का ३० वर्षीय आशिष हमाल रहेका छन्।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरु गुरुङको कोठामा ब्राउन सुगर खरिद गर्न गएको पाइएको छ। ‘पक्राउ पर्नेमध्ये मुख्य कारोबारी शरस्वती गुरुङ हुन्,’ उनले भने, ‘अरु भने ब्राउन सुगर खरिद गर्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।