मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिए

विराटनगर। मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिएका छन्। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उजुरी दिएका हुन्।

मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट ३७ वटा उजुरी परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराएर प्रशासनले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको उनको भनाइ छ ।

प्रजिअ दाहालका अनुसार कतिपयले ठाडो निवेदन र कतिपयले प्रमाणसहित उजुरी दिएका छन् । ‘एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ, उनले भने, धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन् । ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको दाहालले बताए । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको उनले बताए ।

दाहालका अनुसार सरकारले उजुरीका लागि आह्वान गर्नुअघि पनि मिटरब्याजका कारण पीडित भएको भनेर धेरै सर्वसाधारण उजुरी लिएर आउने गरेका थिए । सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनको भनाइ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *