एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ:सांसद डिला संग्रौला

काठमाडौं। सांसद डिला संग्रौलाले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ भएको बताएकी छन्।

बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिदै सांसद संग्रौलाले प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने सत्ता बाहिर रहँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाएको आरोप लगाइन्। उनले झन्डै चार वर्षसम्म संसदमा अल्झेको नागरिकता विधेयक प्रमाणीकरण भएर आएको भए यतिबेला धेरै मानिसले नागरिकता प्राप्त गरिसक्ने बताइन्। उनले भनिन,’ तत्कालीन एमाले सरकारले संसदमा पारित गर्नपट्टि नलागेर अल्झाएर राख्यो । सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ताबाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाइएको छ ।

लामो समयदेखि नागरिकता सम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको छ । यो नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित हुनु निकै गर्वको कुरा पनि हो । तर, बिडम्बना सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण गरेर कानुनको रुपमा पठाउनुपर्नेमा फिर्ता पठाउनु दुःखको कुरा हो ।

उनले राष्ट्रपतिले पुनरविचारका लागि भनेर फिर्ता गरेको नागरिकता विधेयकको कु दफामा समस्या छ कुनमा परिवर्तन गर्नुपर्छ भन्ने कुरा नै उल्लेख नभएको बताइन्। साधारणतया सार्वभौम संसदले बृहत रुपमा छलफल गरेर दुवै सदनले पारित गरेर पठाएको विधेयक फिर्ता गरिनु नहुने धारणा राखिन्।

उनले दुवै संदनले पठाएका विधेयकहरु प्रमाणीकरण गरेर कानुनको रुप दिएर पठाउनु राष्ट्रपतिको संवैधानिक दायित्व भएको बताइन्।विधेयकलाई अल्झाएर राख्ने समय नभएको भन्दै तुरुन्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्ने बताइन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *