संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै
काठमाडौं। आगामी संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दैछ। बैठक आज अपरान्ह ४ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।
बैठकमा मंसिर ४ मा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँटबारे छलफल हुनेछ।यसअघि साउन २६ मा बसेको कार्यदल बैठकले सिट बाँडफाँटको ‘मोडालिटी’को विषयमा सैद्धान्तिक सहमति गरेका थिए। कार्यदलको बैठकमा मुख्यतः सिट बाँडफाँडको विभिन्न मोडालिटीबारे छलफल भएको थियो।
आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठबन्धनमा आवद्ध दलहरुले ११ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ। कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
साउन मसान्तसम्म सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन गठबन्धनले कार्यदल गठन गरेको हो।