देशभर आंशिकदेखि सामान्य वर्षा हुने
काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले आगामी २४ घण्टा देशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन-यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।