नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्टका तीन वटा सबस्टेसन सञ्चालनमा ल्याए

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो।

२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइनको लम्बाइ १ सय ५ किलोमिटर छ।

नेपाल सरकारको लगानी र विश्व बंैकको सहुलियतपूर्ण ऋणमा इनरुवा सबस्टेसनको निर्माण गरिएको हो। नेपालको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा तुम्लिङटार, बसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो। इनरुवा सबस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो। सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्।

इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) चार सय केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। चार सय केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ।

अरुण तथा तमोर नदी र त्यसका सहायक नदीमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। कोसी करिडोरअन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख शुक्र देवकोटाले बताए। इनरुवावाट बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्म २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण आयोजना नेपालको लगानी र एक्जिम बैंकले दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो। कोसी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ। अरुण, तमोर र तिनका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो। भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने विद्युत्

राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी कोरिडोरको निर्माण गरिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिसकेको छ। प्रदेश १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *