रोपाई सकिएपछि आउन थाल्यो मल :एक हप्तामा किसानले पाउने
बिराटनगर। किसानलाई समयमै मल उपलब्ध गराउने उदेश्यले धानलाई लक्षित गरेर सरकारले ओमनबाट खरिद गरेको युरिया मल रोपाइँ सकिसकेपछि मात्र नेपाल आइपुगेको छ। ३० हजार मेट्रिकटन युरिया मलमध्ये २५ सय मेट्रिकटन (५० हजार बोरा) मल बिहीबार वीरगन्ज आइपुगेको हो।
कोलकाता बन्दरगाहबाट मल बोकेको रेल बिहीबार दिउँसो सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीका प्रमुख चन्द्र चौलागाईंले जानकारी दिए। सरकारले ग्लोबल टेन्डरमार्फत खरिद गरेको ३० हजार मेट्रिकटन युरिया आपूर्तिको जिम्मा स्विस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले लिएको छ।
चौलागाईंका अनुसार कोलकाता बन्दरगाहबाटै थप २५ सय मेट्रिकटन युरिया बोकेर हिँडेको अर्को रेल चार दिन भित्रमा आइपुग्नेछ। २२ हजार ५ सय मेट्रिकटन मल वीरगन्जबाट र बाँकी ७ हजार ५ सय मेट्रिकटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले जानकारी दिए। ‘सबै मल आइपुग्न १५ दिनसम्म लाग्छ,’ उनले भने। यसैबीच बिहीबार आइपुगेको ५० हजार बोरा युरिया एक सातापछि जिल्लामा पठाइनेछ। किसानले त्यसपछि मात्रै पाउने उनले बताए। ‘मलको नमुना गुणस्तर परीक्षणका लागि बिहीबार नै काठमाडौंको प्रयोगशालामा पठाएका छौँ। उनले भने, रिपोर्ट आउन कम्तीमा चार दिन लाग्छ।
त्यसपछि मलको भन्सार जाँचपास हुन्छ। ड्राइपोर्टबाट ट्रकमा ओसारेर कम्पनीको गोदाममा ल्याउँछौं, त्यसपछि जिल्ला पठाउने हो।’ यो कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहँु, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। ३० हजारमध्ये मधेसमा ८ हजार ५ सय मेट्रिकटन मल वितरण गरिनेछ। पर्साका लागि ८ सय ५० मेट्रिकटन र बाराका लागि एक हजार मेट्रिकटन युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए।
वीरगन्जस्थित कम्पनीको गोदाममा युरिया मलको मौज्दात शून्य छ। यस्तै डीएपी मल भने ८ सय ३१ मेट्रिकटन र पोटास मल १ हजार ५ सय ९७ मेट्रिकटन मौज्दात रहेको चौलागाईंले जानकारी दिए।