सप्तकोसीमा पानीको सतह बढ्दै जाँदा कटानको जोखिम बढ्दै

विराटनगर । सप्तकोसीमा पानीको सतह बढ्दै जाँदा कटानको जोखिम बढ्दै गएको छ। वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्दै जाँदा नदीले निरन्तर पश्चिम तर्फ कटान थालेकोले जोखिम बढ्दै गएको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टाप्पु र उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडा जोखिममा परेको छ । सप्तकोसी नदीले लगातार दुई वर्षदेखि पश्चिम तर्फ कटान गरिरहेको छ । निरन्तरको कटानका कारण श्रीलङ्का टप्पुको २ हजार ५ सय बिघा खेतीयोग्य जमिन २ वर्षको अवधिमा नदीले बगाइसकेको छ। नदीको कटानका कारण सुनसरीको वराहक्षेत्र श्रीलङ्का टाप्पुका १ सय बढी परिवार विस्थापित भएका छन् । एउटा विद्यालय पनि नदीले बगाएपछि अन्यत्र सारिएको छ ।

सप्तकोसी नदीले अहिले उदयपुरको बेलका नगरपालिका वडा ८ डुम्री बोटे ९ लाहुरे खोजमा तीव्र कटान सुरु गरेको छ । नदीले दैनिक १० मिटर सम्म कटान गरिरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए । डुम्रीबोटे लाहुरे खोचमा नदीले एक सय मिटर कटान गरेको जयकुमार राई बताउँछन् ।सो स्थानमा भइरहेको नदी कटान रोक्न नसकिए बेलका नगरपालिकाको वडा नम्बर ८, ९, ३ र २ नम्बर वडा जोखिममा पर्ने राईले बताए ।

डुम्री बोटेमा कोसी कटान सुरु भएपछि उदयपुरको बेलका, चौदण्डी, सप्तरीको सप्तकोसी, कञ्चनरूप लगायत सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु समेत जोखिममा परेको राईले बताए । कटान नियन्त्रणका लागि बोरामा बालुवा हालेर बाँध बनाउने काम भइरहेको छ । तर नदीको कटा भने नरोकिएको स्थानीयले बताएका छन् । २ वर्षदेखि पूर्वी तटबन्धमा बगिरहेको सप्तकोसी पश्चिमतर्फ सर्दै कटान गरिरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *