विराट गोल्डकप फुटबल प्रतियोगिताको समय तालिका सार्वजनिक

यही चैत्र १५ देखि २४ गतेसम्म विराटनगरमा हुन लागेको ८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको समय तालिका सार्वजनिक भएको छ । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरेर बेलुका ६ बजेदेखि राती ८ बजेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराए । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले विराटनगरको शहिद रंगशालामा दिवा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराए ।

अघिल्लो वर्ष विराटनगर महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गर्दा राती ८ बजेदेखि १० बजेसम्म पूर्ण रात्रिकालीन समयमा फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । रातीको समयमा फुटबल प्रेमीलाई घर पुग्न समस्या हुने भएकोले पूर्ण रात्रिकालीन समयमा फेरबदल गर्दै दिवा रात्रिकालीन (६ देखि ८) समयमा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष शाहीले बताए ।

फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटान गरी ३ देशका १० टिमको सहभागिता रहेका छन् । प्रतियोगिता अवधिभरमा ९ वटा खेल खेलाइने छ । २४ गते फाइन खेल खेलाइने आयोजक समितिले जानकारी गराएको छ । प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५१ हजार नगद सहित शिल्ड प्रदान गरिने कोषाध्यक्ष अनुज बानियाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख रुपैयाँ खर्च हुने बानियाको भनाई छ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख, रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । प्रतियोगिताको टिकट बिक्रीबाट ५० देखि ६० लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शाहीले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *