एक महिनामा ६६ जना आतंककारी मारिए
माली। मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतंककारी मारिएका छन् । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतंककारी विरुद्धको कारबाहीमा ६६ जना आतंककारी मारिएका हुन्।
सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतंककारीहरूले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ। उनीहरूले प्रयोग गर्ने शक्तिशाली हतियारहरूका साथै उनीहरूका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ।
सो बलले गएका केही महिनादेखि यहाँका आतंककारीहरूका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ। प्रतिआतंकवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतंककारीहरूलाई पक्राउ पनि गरेको छ।
सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ। याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरूलाई निरन्तरता दिँदै आएका छन्।
यो अफ्रिकी देशमा अतिवादीहरूले जारी राखेको आतंकमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन्।
राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन।