दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते
विराटनगर। मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्।
उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का ३२ वर्षीय मिलन श्रेष्ठ घाइते भएका छन्। प्रहरीका अनुसार घाइते तामाङको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइते भएका तामाङको स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको उर्लाबारीमै उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न उर्लाबारी-५ का २६ वर्षीय आशाङ तामाङ, कुमार लिम्बू र रजक थापालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै पक्षबीच पुरानै रिसइबीका कारण झडप भएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।