विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्ता पक्राउ

बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेका हुन्।

उनीहरूले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं। एमसीसीका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए।

यसअघि आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस पनि गरिएको थियो।

पटक-पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाति सन्धी पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवले जनाएको छ।

एमसीसी मतियारहरूलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आज राँके जुलुस निकालेको बताइएको छ।

देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरूलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाइ छ। यता पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको र गृह मन्त्रालयको आदेश अनुसार प्रक्रिया अगाडि बढाइने वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *