कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु
विराटनगर। विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।
उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर मृत्यु भएको भगतले जानकारी दिए। उच्च रक्तचापको पुरानै समस्या रहेका विकलाई कोसी अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि कोसीले नोबेल रेफर गरेको हो। जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।
विकले २०८३ साल पुस २ गते सजाय भुक्तान गरिसक्ने थिए। शव परिवारलाई जिम्मा लगाएर पठाइएको कारागारले जनाएको छ। मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन्।