नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग
वीरगन्ज। नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ। नेपालमा भारतीय ५ सय , १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ। ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुँदै आए पनि अब भने कारोबारीले त्यस्ता काममा महिलाको प्रयोग गर्न थालेका हुन्।
यसै क्रममा प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय नोटसहित तीन जना महिलालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकबाट नेपाल प्रतिबन्धित भारतीय नोट २८ लाख ५६ हजारसहित तीन जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्लाको साविक गाविस शिखरवेसी .७ की ४५ वर्षीया अनिता तामाङ्ग, त्यही ठाँउकी ४४ वर्षीया सरिता अग्रवाल र धादिङ घर भएकी ३० वर्षीया मन्जु तामाङ्ग रहेका छन्।
उनीहरुको साथबाट भारतीय २ हजार र ५ सयको दरका नोट गरी २८ लाख ५६ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए। बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए। ।
बरामद नोट र पक्राउ परेका महिलाहरुलाई आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए।