October 11, 2022
गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी दिए।
मन्त्री खाँणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे।
उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे।