राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने
काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २०७४ सालमा राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज गर्ने निर्णय भएको जानकारी गराएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२:०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले सो निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने जनाएको छ।