पाल्पामा निःशुल्क रूपमा आमा सुरक्षा कार्यक्रम

तानसेन। पाल्पामा निःशुल्क रूपमा आमा सुरक्षा कार्यक्रम लागू भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेखि पुनः सञ्चालनमा आएको हो।

तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेजबीच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलालाई राहत मिल्ने भएको हो। तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, र लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल, कम्पनी सचिव निर्दाेश खनाल, मेडिकल सुपरिडेन्टेन डा. राजु शाक्य, कलेजका प्रवक्ता कृष्णप्रसाद पराजुलीको रोहवरमा दुई पक्षीय सम्झौता भएको हो।

आमा सुरक्षा कार्यक्रम लागू भएपछि मेडिकल कलेजमा सुत्करी हुन जाने महिलाहरूको अस्पतालमा प्रवेश गरेपछि औषधि उपचारमा लाग्ने सबै किसिमको उपचार खर्च निःशुल्क हुने पालिकाले जनाएको छ। सामान्य अवस्थाको सुत्केरी गराउनेदेखि अपरेसनसम्मको अवस्था पूर्ण रूपमा निःशुल्क हुनेछ। नर्मल सुत्केरीका लागि २ हजार ५ सय रुपैयाँ, जटिल अवस्थाको सुत्केरीको लागि ४ हजार रुपैयाँ, अपरेसन गर्नुपर्ने सुत्केरीको १० हजार रुपैयाँ र एनटीडी सुत्केरीको सेवाका लागि १० हजार रुपैयाँ शुल्क सरकारले तोकेको तानसेनका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए। यो सम्झौता २०८० असार मसान्तसम्म लागू हुनेछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *