मोरङबाट हतियार सहित दुई जना पक्राउ

विराटनगर। मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेका छन्। सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएका हुन् । सुरुमा आलम पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए ।

भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा नेपालतिर आउँदै गरेको अवस्थामा उनलाई साँझ ५ बजेतिर पक्राउ गरिएको एसपी लामिछानेले जानकारी दिए । उनका अनुसार ड्युटीमा खटिएका सशस्त्रले सुनवर्षी–८ खरेबारीबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजीन र एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको हो ।

आलमलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले उक्त हतियार धिमालले आफूसँग मगाएको बताएका थिए । त्यसपछि परिचालित सशस्त्रको टोलीले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट धिमाललाई पक्राउ गरेको हो । एसपी लामिछानेका अनुसार को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार सात सय ७० रूपैयाँसहित राति ८ बजेतिर धिमाल पक्राउ परेका हुन् । पक्राउ परेकालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । दुवै जनाविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने नेपाल प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु हतियारका कारोबारी भएको पत्ता लागेको छ ।

आलम भारतबाट नेपालतिर हतियार भित्राउने धन्दामा संलग्न रहेको पाइयो। प्रहरी स्रोतले भन्यो, आलमले भारतबाट भित्राएर उपलब्ध गराएको हतियार खरिद गर्दै धिमालले भने अरुलाई बिक्री गर्ने गरेको खुलेको छ । दुवै जनाको मिलेमतोमा अहिलेसम्म कति हतियार नेपाल भित्राइएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको पृष्ठभूमिलाई आधार बनाउँदै प्राविधिक पक्षसहितको विश्लेषण गरेर विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।

सशस्त्रका डीआईजी गिरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर सुरक्षा सतर्कता बढाउन मातहतका युनिटलाई निर्देशन दिएका छन् । सीमा क्षेत्रबाट हुने हातहतियार एवं लागुऔषधको ओसारपसार, अवैध धन्दा र विभिन्न खालका अपराध नियन्त्रणमा लिन उनको निर्देशन छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *